नेपालले वार्षिक तीन अर्ब रुपैयाँको इन्टरनेट ब्यान्डविथ किन्ने गरेको छ। इन्टरनेट र टेलिफोन सेवा प्रदायक कम्पनीले भित्र्याएको ब्यान्डविथको तथ्यांकअनुसार वार्षिक नेपालबाट झन्डै तीन अर्ब रुपैयाँ इन्टरनेट ब्यान्डविथ खरिदमा बाहिरिने गरेको छ।
नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार २०७४ को साउनदेखि २०७५ असार मसान्तसम्मको एक वर्षमा सेवा प्रदायक कम्पनीले एक सय ८४ जीबी ब्यान्डविथ भित्र्याएका छन्। एक सय ८४ जीबी इन्टरनेट ब्यान्डविथका लागि सेवा प्रदायक कम्पनीले मासिक २४ करोड ६९ लाख ६७ भुक्तानी गर्दै आएको देखिन्छ। यो तथ्यांकका आधारमा ब्यान्डविथका लागि वार्षिक दुई अर्ब ९६ करोड ३६ लाखभन्दा बढी बाहिरिने गरेको छ।
यो अवधिमा वल्र्डलिंक कम्युनिकेसन प्रालिले सबैभन्दा बढी ब्यान्डविथ किनेको छ। वल्डलिंक अहिले मासिक आठ डलर प्रतिएमबीपीएस दरले ८४ जीबी ब्यान्डविथ किन्दै आएको छ। त्यसका आधारमा वल्र्डलिंकले मासिक सात करोडभन्दा बढीको ब्यान्डविथ किनेको देखिन्छ।
प्राधिकरणका अनुसार ब्यान्डविथ खरिदमा सेवा प्रदायकको आआफ्नै मूल्य छ। त्यसमा सबैभन्दा सस्तो भनेको आठ रुपैयाँ हो। वल्र्डलिंकले आठ रुपैयाँका दरले अहिले ब्यान्डविथ किन्दै आएको छ। यस्तै सबैभन्दा महँगो मूल्य तिरेर ल्याउने कम्पनीमा मर्कन्टायल कम्युनिकेसन प्रालि छ। मर्कन्टायलले मासिक ३३ डलर ३४ सेन्ट प्रतिएमबीपीएसका दरले ब्यान्डविथ किन्दै आएको छ।